Breaking News

सरकारको काम सुस्त भयो, अब ‘गियर’ बदल्नुपर्छ: टोपबहादुर रायमाझी

काठमाण्डौ, २४ असोज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब तीव्रता दिनुपर्ने बताएका छन् ।

अर्घाखाँचीको मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ आयोजक मूल समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका हुन् ।

मुलुक यतिबेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेको बताए । उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

अब नयाँ संविधानको अभ्यासको सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार निर्माण भएको भन्दै अब तिनीहरूको तीनै तहका संस्थाहरूको योजना, बजेट र अधिकारको बाँडफाँड र कार्यान्वयनको व्यापक अभ्यास गर्नुपर्ने परिस्थिति सिर्जना भएको धारणा राखे ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले महोत्सवलाई सफल बनाउनको लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । मूल समारोह समिति काठमाडौंले महोत्सव आगामी असोज ३१ गतेसम्म अर्घाखाँचीमा चल्ने पनि जनाएको छ ।

महोत्सवको ब्यानरको अनावरण नेकपाका स्थाीय समिति सदस्य रायमाझी, नेपाल चिकित्स संघका अध्यक्ष श्रेष्ठ र काठमाडौं संयोजक खिम प्रसाद घिमिरेले संयुक्त रूपमा गरेका थिए ।

shares