Breaking News

आज घटस्थापना, बडादसैंको पहिलो दिन: घरघरमा जमरा राखिंदै

काठमाण्डौ, २४ असोज ।

आज घटस्थापना, दसैंको पहिलो दिन । नेपालीको घरघरमा जमरा राखेर मनाइँदैछ ।

विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरसफा गरेर गाईको गोबरले लिपपोत गरी शुद्ध बनाएर सजाउने गरिन्छ ।

यो प्रक्रिया पश्चात नवरात्रि सुरु भएको मानिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक चोखो बालुवा सहितको पञ्चमाटोमा जौ, गहुँ र मकैलाई छरिन्छ र टीकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ ।

जौलाई आदिकालदेखि चोखो वनस्पतीको रूपमा हेर्ने गरिएको छ । प्रकाश नआउने स्थानमा शुद्ध माटोमा उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्मृद्धिकाे प्रतीक मानिन्छ भने वैज्ञानिक दृष्टिकोणबाट पनि यसको महत्व त्यत्तिकै छ ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन् भन्ने कुरामा विश्वास गरिन्छ । जुन कुरा कालिकापुराणमा उल्लेख छ । यसका अतिरिक्त घटकलश अष्टमंगलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ ।

आजकै दिनदेखि घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैं पूजाको थालनी गर्ने चलन रहिआएको छ ।

आज बिहान ७:३० बजेको उत्तम साइतमा हनुमानढोकाको दसैंघरमा घटस्थापना गरी जमरा राखिएको छ । त्यसैगरी,  प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा पनि वैदिक विधिपूर्वक घटस्थापना राखिएको छ । कालिका मन्दिरको जमरा कोठामा चार पाथी र गुरु गोरखनाथको गुफामा एक पाथी जौ को बीज छरेर जमरा राखिएको छ ।

 

shares