Breaking News

सोलार सिंचाई बन्यो आम्दानीको श्रोत, विदेशिने पुरुषहरू बेमौसमी तरकारी खेतीमा व्यस्त

रमेश कुमार पाण्डे/सुर्खेत, २३ असोज ।

पानीमाथिको ओभानोको ज्वलन्त उद्दाहरण थियो सुर्खेत छिन्चु जाजरकोट सडकखण्डको रावत गाउँ । बस्ती नजिकै भेरी नदी बगेपनि सिंचाइका अभावले वर्षभरी खान पुग्ने उत्पादन हुँदैन थियो । तर अहिले सौर्य शक्तिमा आधारित सिंचाई प्रविधिको प्रयोगले खेतको उत्पादन आम्दानीको श्रोत बनेको छ ।

रावत गाउँमा अहिले सिचाईका लागि आकाशे पानीको भर पर्नु पर्दैन । नजिकै बगेको भेरी नदीको पानी सौर्य शक्तिको प्रयोगले बस्तीमाथि पोखरीमा जम्मा गरिएको छ । नदीदेखि ८० मिटर माथि ३७ घरपरिवारलाई पायक पर्ने ठाउँमा पक्की पोखरी निर्माण गरिएको छ । सिंचाई सुविधा भएपछि स्थानीयले बेमौसमी तरकारी खेती सुरु गरेका छन् । आयआर्जनका लागि विदेशिने पुरुष अहिले तरकारी खेतीबाट मनग्य आम्दानी लिइरहेको स्थानीयहरू बताउँछन् ।

सिंचाई भएपछि जग्गा बाँझो राख्नु परेको छैन । खेतबारीमा पहिलाभन्दा धेरै अन्नबाली उत्पादन हुन्छ । सौर्य ऊर्जाको प्रयोग गरेर बाह्रै महिना सिंचाई हुने भएपछि धान, गहुँ, मकैबाहेक तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ । सिंचाई सुविधाले नै आफ्नो जीवनशैलीमा सुधार ल्याएको कृषक मनसरा खड्काले बताइन् ।

गाँउमा उत्पादन भएको तरकारी बिक्रीमा समस्या छैन । रावत गाउँ जस्तै नजिकका नदी किनारका बस्ती र स्थानीय फेरा, कुदु र छेडा बजारमा बिक्री हुने गर्दछ । सिंचाई सुविधावाट स्थानीय किसानको आम्दानी त बढेको छ नै, यसले बाहिरबाट आयात हुने तरकारीलाई पनि रोकेको छ । वर्षभरी खाने अन्न किन्नुपर्ने स्थानीय अहिले आफ्नो बारीमा फलेको तरकारी बेचेर घर खर्च चलाइरहेका छन् ।

२९ लाख २६ हजार २ सय २४ रुपैयाँको लागतमा निर्माण भएको लिफ्ट सिंचाईको लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले २४ लाख ८७ हजार २ सय ९० सहयोग गरेको हो । आकासे पानीको भरमा परम्परागत खेती गरिरहेका किसानलाई व्यावसायिक खेती गर्न प्रेरणा दिने यो प्रविधिलाई यी र यस्ता नदी छेउका सुख्खा बस्तीमा प्रयोग गर्न सके स्थानीय कृषकको जीवनशैली सुधारमा ठूलो सहयोग गर्नेछ ।

shares