Breaking News

शहीद स्मारक ए डिभिजन लिगका बाँकी खेल भाेलिदेखि सुरु

काठमाण्डौ, २३ असोज ।

बंगबन्धु गोल्डकप सहभागिताका कारण स्थगित भएको शहीद स्मारक ए डिभिजन लिगका बाँकी खेल भाेलि बुधबारदेखि सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले तय गरेको नयाँ खेल तालिका अनुसार भोलि ए डिभिजनको डेब्यु टोली च्यासल युथ क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । यी दुई बीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुनेछ । च्यासल क्लबका प्रशिक्षक राजुकाजी शाक्यले भारतमा गरेको तयारीका कारण लिगमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । तर फरक फरक टोलीबाट खेलाडी अनुबन्ध गरेका कारण तालमेल मिलाउन कठिनाई भएको उनको भनाइ छ ।

विभागीय टोली बाहेक ए डिभिजन क्लबकाे साझा समस्या प्रशिक्षण स्थल रहेको प्रशिक्षक शाक्यले बताए । यता, आफ्नो टोलीमा राष्ट्रिय टोलीका खेलाडी नभएपनि तयारी राम्रो भएका कारण लिगमा विजयी सुरुवात गर्ने मच्छिन्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिकाे विश्वास छ ।

लिग अन्तर्गत यसअघि भएको पहिलो खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । एन्फाले यसअघिनै लिगको पहिलो चरणका ७ खेल दशै अघिनै सम्पन्न गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

तालिकाअनुसार बिहीबार हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्रीस्टारबीच बिहान ११ बजे र दोस्रो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । त्यस्तै, शुक्रबार हुने पहिलो चरणको अन्तिम दिनको खेलमा हिमालयन शेर्पाले एपीएफ तथा ब्रिगेड ब्वाइज क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

shares