Breaking News

नेपालमा एक दिनअगावै मनाइयो विश्व मानसिक स्वास्थ्य दिवस

काठमाण्डौ, २३ असोज ।

‘बदलिंदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गरिन्छ । तर नेपालमा भने सरकारी तवरबाट यस वर्ष अक्टुबर ९ तारिकमा नै दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौमा अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले सुलभ र गुणस्तरीय सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री यादवले प्रत्येक प्रदेशमा स्वास्थ्य प्रतिष्ठानको स्थापना गरिने कार्य अघि बढाइने बताए । मानसिक स्वास्थ्यका क्षेत्रमा सरकारले बिरामीको उपचारको उचित र सहज तवरले उपचार सेवा उपलव्ध गराउने उनले प्रतिबद्धता जनाए ।

नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।

shares