Breaking News

एसिया छनोट समूह ‘बी’मा नेपालको लगातार चौथो जित

काठमाण्डौ, २३ असोज ।

आइसीसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’मा नेपालले लगातार चौथो जित हात पारेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको हो । १ सय ५१ रनकाे लक्ष्य पछ्याएकाे भुटान १७औं अाेभरमा ३३ रनमै अलअाउट भयाे । भुटानका तेन्जिङ वाङचुकले ११ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

नेपालका सन्दीप लामीछाने र ललित राजबंशीले ३ – ३ विकेट लिए । यस्तै, बसन्त रेग्मीले २ तथा शरद भेषवाकर र दीपेन्द्र सिंह एेरीले एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । नेपालका लागि प्रदिप ऐरीले नटआउट ७५ रनको योगदान दिए । नेपालका लागि सर्वाधिक रन बनाएका उनले ६८ बल खेल्दै २ छक्का र ६ चौका प्रहार गरेका थिए ।

यस्तै, अनिल शाहले २७, दिपेन्द्र ऐरीले १५ रनको योगदान दिए । आरिफ शेखले १३ रन बनाए भने करण केसीले नटआउट ११ रन जोडे ।
नेपालले भोलि चीन र असोज २६ मा सिङ्गापुरसँग खेल्नेछ ।

shares