Breaking News

तीनै तहको सरकारले गर्ने काम संविधानमै किटान: मन्त्री पोखरेल

काठमाण्डौ, २३ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीनै तहको सरकारले गर्ने काम संविधानले नै किटान गरेको बताएका छन् ।

शिवपुरी माध्यमिक विद्यालयको ७० अौं वार्षिकोत्सवलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले संविधानमा रहेका ऐनलाई टेकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताएका हुन् । उनले संविधानको नयाँ व्यवस्था अनुसार अगाडि बढ्दै संविधानमा उल्लेख विषयलाई कानून निर्माण गरेर संविधानको किटानी व्यवस्थालाई कार्यान्वयन गर्न सकिने धारणा राखे ।

त्यस्तै उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन गर्दै मुलुकको शिक्षा प्रणालीमा देखापरेका समस्या अन्त्य गर्न सरकार लागिपरेको बताए । उनले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्दै सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्ने सरकारको सोच रहेको बताए ।

कार्यक्रमका अवसरमा विभिन्न अतरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विक्रम संवत २००५ मा स्थापित कक्षा १२ सम्मको उक्त विद्यालयमा करिब एक हजार २ सय विद्यार्थी अध्ययरत छन् ।

shares