Breaking News

नेकपा बैठक: पार्टी विवादबारे छलफल गर्ने भनिएपनि विदेश भ्रमणको रिपोर्टिङमै सीमित

काठमाण्डौ, २२ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लाे कमिटी एकता र बरिष्ठ नेता माधवकुमार नेपालकाे असहमतिपत्रमाथि अर्काे बैठकमा मात्रै छलफल हुने भएकाे छ ।

पार्टी विवादबारे छलफल गर्ने भनिएकाे बैठक नेताहरूको विदेश भ्रमणको रिपोर्टिङमै सीमित भएकाे हाे । पार्टीकाे विवाद र तल्लाे कमिटीकाे एकताबारे यही २४ गते बिहान ८ बजे बस्ने सचिवालय बैठकमा छलफल हुनेछ । बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अाज बिहान बसेकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहालले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध विस्तारको लागि उच्चस्तरीय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा जानकारी गराए । अाफूहरू विदेशमा रहेका बेला बसेकाे सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गर्ने निर्णय गरेको भन्दै वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

अब बस्ने स्थायी समिति बैठकमा सरकारको कामको पनि समीक्षा गरिने प्रवक्ता श्रेष्ठले बताए ।

shares