Breaking News

मदन पुरस्कार विजेता जोशीको ‘सखी’

काठमाण्डौ, २२ असोज ।

मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा उनको उपन्यास ‘सखी’को विमोचन भयो ।

विमोचन कार्यक्रममा साहित्यकार सरुभक्तले लामो समयसम्म राज्य र शासक समूहबाट मानवसरह नै नठानिएका थारुजातिको कथा ल्याएर जोशीले नेपाली साहित्यमा योगदान गरेको बताए । ‘यो उपन्यासले सिमान्तकृत थारु जातिको जीवनको अभिलेखीकरण गरेको छ’, सरुभक्तले भने ।

उपन्यासमाथि टिप्पणी गर्दै उपन्यासकार बुद्धिसागरले ‘सखी’ले सुदूर पश्चिमका थारु जातिको सिंगो कथा उतारेको धारणा राखे । उनले पुस्तकमा पहाडबाट तराई झरेर त्यहाँको रैथाने समुदायसँग घुलमिल भएको युवकको कथा समेटिएको बताए ।

समीक्षक एवं कथाकार अर्चना थापाले कम्लहरी प्रथाको सूक्ष्म चित्रण उपन्यासले गरेको टिप्पणी गरिन् । नेपाली साहित्यमा अहिलेसम्म आइरहेको भन्दा फरक परिवेशको कथा प्रस्तुत गरिएको उनले बताइन् ।

समीक्षक राम लोहनीले उपन्यासको भाषाशैलीको तारिफ गरे । ‘यो उपन्यास भाषिक दृष्टिकोणले अब्बल कृति हो’, लोहनीले भने, ‘यसका धेरै वाक्य अब सामाजिक सञ्जालका स्टाटस बन्नेछन् ।’ उपन्यासकार जोशीले आफ्नो साहित्य यात्राको चर्चा गर्दै थारु समाजको वास्तविक चित्रण गर्ने प्रयास गरेको उनले बताए ।

‘ऐना कथा संग्रहबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यकार रामलाल जोशीको यो तेस्रो कृति हो । पुस्तक बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो ।

shares