Breaking News

राष्ट्रकवि घिमिरेलाई रथारोहणसहित अभिनन्दन

काठमाण्डौ, २१ असोज । सय वर्षको जन्मोत्सवका अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहणसहित अभिनन्दन गरिएको छ ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आइतबार काठमाण्डौमा आयोजना गरेको अभिनन्दन समारोहमा राष्ट्रकवि घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्रले अभिनन्दन गरेका हुन् ।

अभिनन्दन समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेका रचनामा प्रकृति चेत र समाजको यथार्थ चित्रण हुने र त्यस्तो साहित्यले नेपाली समाजको विविधतामा एकता ल्याई राष्ट्रिय अखण्डतालाई बलियो बनाउने बताए ।

प्रकृतिप्रेमी कवि घिमिरे एक सय वर्षको उमेरमा पनि महाकाव्य साधनामा लाग्नु भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सरकार उनको साथमा रहेकोे बताए ।

अभिनन्दन समारोहमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको गौरवगाथा गाउने राष्ट्रकवि घिमिरे प्रकृतिका पूजारी भएको बताए ।

समारोहमा विभिन्न कविहरूले राष्ट्रकवि घिमिरेका कविता वाचन गरेका थिए । अभिनन्दन अघि राष्ट्रकवि घिमिरेलाई बग्गीमा राखी नगर परिक्रमा गराइएको थियो ।

२०७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेका गौरी, राष्ट्रनिर्माता, इन्द्रकुमारी, नवमन्जरी लगायतका काव्य सिर्जना नेपाली साहित्यमा चर्चित कृतिहरू हुन् ।

shares