Breaking News

विद्युतीय प्रणालीबाट भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाण्डौ, २१ असोज ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंकको पहुँच भएका ठाउँमा विद्युतीय प्रणालीबाट भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सरकारले गर्ने भुक्तानी चेकबाट नभई विद्युतीय प्रणालीबाट हुने गरी व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै समितिले बैंकको पहुँच भएको क्षेत्रमा पनि तुरुन्त विद्युतीय भुक्तानी प्रणाली लागू गर्न निर्देश गरेको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिए ।

समितिले असारको अन्तिम साता मात्र आएर पुँजीगत खर्च हुने गरेको भन्दै मंसिरसम्म कुल बजेटको ६० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएको छ भने जेठसम्म ९० र असारमा १० प्रतिशत मात्र खर्च गर्न सरकारलाई निर्देशन गरेको दाहालले बताए ।

बैठकले वित्तीय अनुशासन कायम राख्न वित्तीय जवाफदेहिता विधेयक तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ भने चालु आर्थिक वर्षको विकास खर्चको प्रभावकारी कार्यान्वयनको योजना १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको दाहालले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले विद्युतीय भुक्तानी प्रणाली लागू गर्न र असार १५ पछि चेक काटे पनि भुक्तानी नहुने व्यवस्था मिलाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

shares