Breaking News

थाइल्याण्डविरुद्ध नेपालको सहज जित, करण र सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाण्डौ, २१ असोज ।

मलेसियाको क्वालालाम्पुरमा आइतबार सम्पन्न आईसीसी टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ ।

विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको उक्त खेल वर्षाले प्रभावित भएपछि नेपालले डीएल मेथडका आधारमा थाइल्याण्डमाथि १४० रनको फराकिलो अन्तरले जित हासिल गरेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले पेश गरेको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले वर्षाअघि ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोड्यो र खेलको नतिजा डीएल मेथडका आधारमा घोषणा गरियो ।

खेलमा सन्दीप लाछिछानेले ५ विकेट चट्काएका थिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । यसैगरी, करण केसीले ३ विकेट लिए । १.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन जोडेको थियो ।

अलराउण्ड प्रदर्शन गरेर खेल उकासेका करण केसी म्यान अफ दि म्याच बने । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक अविजित ४० रन बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिंदै ४ रनमा अविजित रहे ।

यसैगरी शरद भेसवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ तथा विनोद भण्डारीले १५ रन जोड्न सफल भएका थिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले सर्वाधिक ४ विकेट लिए ।

अब नेपालले चीन, भुटान र सिंगापुरसँग खेल्न बाँकी छ ।

shares