Breaking News

मन्त्रिपरिषद् बैठक: यस्ता छन् निर्णयहरू

काठमाण्डौ, २१ असोज ।

सरकारले उखु किसान र चिनी उद्योगबीच देखिएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि रणनीति तयार गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी रणनीति तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्थाका साथै उद्योग, अर्थ र कृषि मन्त्रालयका सहसचिवहरू रहने छन् ।

त्यस्तै बैठकले सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत माग्दै यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल वास्कोटाले जानकारी दिए ।

बैठकले सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । त्यस्तै विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि ऋणस्वरुप ११ अर्व ६३ करोड रुपैयाँ स्वीकार गर्नका लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषद् बैठकले जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने १ अर्व ४ करोड रुपैयाँ सहायता स्वीकृत गर्ने निर्णय गरेको छ भने नागरिक लगानी कोषको सञ्चालकमा डाक्टर रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोकिने निर्णय गरेको प्रवक्ता बास्कोटाले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका र कोष्टारिका भ्रमणका क्रममा भएका मुख्य गतिविधिका बारेमा जानकारी गराएका थिए ।

shares