Breaking News

स्थायित्वको माग गर्दै राजधानीमा राहत शिक्षकको प्रदर्शन

काठमाण्डौ, २१ असोज ।

संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरूको पेशागत सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले आइतबार काठमाण्डौमा प्रदर्शन गरेको छ ।

संघीय सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकको स्थायित्वका बारेमा सम्बोधन नगरिएको भन्दै समितिले काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेका हुन् । उनीहरूले स्वतहः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

राहत शिक्षकहरूको स्थायित्वका लागि संघीय शिक्षा ऐनमा स्पष्ट प्रावधान राखिनु पर्ने, शिक्षक सेवा आयोगका परीक्षाहरूमा राहत शिक्षकहरूलाई उमेरको हद लगाउन नहुने, शिक्षकहरूबीचको भेदभाव अन्त्य गरिनु पर्ने लगायतका मुख्य चार सूत्रीय माग राख्दै समितिले आन्दोलन जारी राखेको हो ।

काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्‍याली नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले तत्काल आफ्नो माग पूरा गराउन राज्यको ध्यानाकर्षण गराउन विभिन्न नारा लगाएका थिए ।

यसअघि शिक्षा मन्त्रालयसँग भएको वार्तामा सरकारका प्रतिनिधिहरूले राहत शिक्षकका मागहरू संघीय शिक्षा ऐनमा समावेश गर्न सकिने प्रतिवद्धता जनाएतापनि लिखित सम्झौता पत्रमा हस्ताक्षर नगरेकाले आन्दोलन जारी राखिएको समितिले जनाएको छ ।

shares