Breaking News

दसैंका लागि नयाँ नोट सटहीको काम सुरु, असोज २९ सम्म साँट्न सकिने

काठमाण्डौ, २१ असोज ।

नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । नेपालीहरूको महान चाड दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आइतबारबाट नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो ।

आगामी असोज २९ गतेसम्म  ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी एक जनाले जम्मा २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट लिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केही बाणिज्य बैंकहरूबाट पनि नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरिएको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरूले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् । यसैबीच, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीमा नयाँ नोट सटहीका लागि भीड लागेको छ ।

उपत्यका बाहिरका सर्वसाधारणका लागि राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले दसैंको अवसर पारेर हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध पनि गरेको छ ।

shares