Breaking News

निजगढ विमानस्थल बन्न नदिने षड्यन्त्रप्रति सचेत रहन सरकारलाई कांग्रेसको आग्रह

काठमाण्डौ, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहन सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेको दाबी गर्दै सचेत रहन सरकारलाई आग्रह गरेका हुन् ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले वातावरणीय प्रभाव मूल्यांकनको नाममा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले सो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । सो विमानस्थल अघि बढाउनका लागि सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाइ गर्न नहुने प्रमुख प्रतिपक्ष दलका नेता पाण्डेको प्रस्ताव छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी विवाद तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं र तिहारको बीचमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन् ।

shares