Breaking News

सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एलिसन र होन्जुलाई

काठमाण्डौ, १५ असोज । सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने नोबेल समितिले जनाएको छ ।

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ ।

यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएपछि यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नदिइने एकेडेमीले जनाएको छ ।

स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ । आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन् जसले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण उक्त पुरस्कार नदिइने भएको हो ।

हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो । स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर प्रकाशित गरेको थियो ।

shares