Breaking News

मापदण्डका आधारमा मात्र कर्मचारीको सरुवा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाण्डौ, १५ असोज । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मापदण्डका आधारमा मात्र कर्मचारीको सरुवा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा स्वास्थ्य क्षेत्रमा बिना मापदण्ड कर्मचारीको सरुवा गरेको देखिएको भन्दै मापदण्डका आधारमा मात्र कर्मचारीको सरुवा गर्न निर्देशन दिएको हो ।

त्यस्तै बैठकले राज्यद्धारा प्रदान सहूलियत एवं निशुल्क उपचार सेवामा विपन्न वर्गको पहुँच पुग्न नसकेको भन्दै समाजिक सुरक्षा र मान्यताका आधारमा बिरामीको सहुलियत एवं निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको शिक्षा तथा स्वास्थ्य समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठकमा स्वास्थ्य क्षेत्रमा देखिएको चूनौति समस्या र समाधानका उपायका बारे स्वास्थ्य मन्त्रालयका अधिकारीसंग छलफल भएको उनले बताए ।

बैठकमा औषधी उत्पादनमा स्वदेशीलाई प्रोत्साहन गर्ने बारेमा स्वास्थ्य मन्त्रालयको तयारीका बारेमा जानकारी माग गरिएको थियो । त्यस्तै सार्वजनिक खरिद ऐन अनुसार नै मुलुक बाहिरबाट औषधी खरिद गर्ने प्रक्रियाका बारेमा पनि जानकारी माग गरिएको थियो ।

त्यस्तै समिति अन्तर्गतको उपसमितिमा सोमबार पनि चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएको छ । सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिअनुसार ल्याउने भनिएको चिकित्सा शिक्षा विधेयक संसदको वर्षे अधिवेशनमा पेस हुन नसकेपनि समितिमा भने निरन्तर छलफल भइरहेको छ ।

डाक्टर केसीले विधेयक तत्काल पारित नभए १६ औं अनशनको चेतावनी दिएपछि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र बनाएको हो ।

shares