Breaking News

अत्यावश्यक वस्तुमा भएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाण्डौ, १५ असोज । सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक वस्तुहरूमा गरिएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यकीय वस्तुमा अस्वभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

दसैंको मुखैमा अतिआवश्यकीय वस्तुहरूको अस्वभाविक मूल्य वृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिले दसैंको बस टिकटमा कृत्रिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कारबाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ । यात्रुहरूलाई सहज ढंगले यात्रा गर्न पाउने गरी दसैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको सभापति शाहले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरूले व्यवसायीहरूले सरकारलाई समेत झुक्याएर चिनीको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले उखु किसानहरूको बक्यौता रकम तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य हृदयश त्रिपाठीले चिनीको मूल्य वृद्धि गरेर सरकारले निर्लज्जता प्रस्तुत गरेको स्पष्ट पारे ।

समितिका सदस्यहरूले मूल्य वृद्धि गर्ने तर त्यसको चित्तबुझ्दो जवाफ नदिने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

shares