Breaking News

करसम्बन्धी अराजकता फैलाउनेमाथि कडा कारबाही गर्छौं: कावा प्रम पोखरेल

काठमाण्डौ, १५ असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धी अराजकता फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आह्वान गरे । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानूनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिए ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारे । उनले करसम्बन्धी सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरू करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरेकी थिइन् । उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरू आतंकित हुनु परेको पनि स्पष्ट पारिन् ।

महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दबाब दिँदै आएको छ ।

shares