Breaking News

अस्वस्थकर जीवनशैलीले निम्त्याउँछ मुटुजन्य राेग ‍(भिडियाे सहित)

कमला गुरुङ/गुञ्जनराज गिरी/ काठमाण्डौ, १५ असोज । बढ्दो व्यस्तता अनि बदलिंदो जीवनशैली धेरै प्राणघातक रोगका कारक हुन् । नेपालमा पनि मुटुजन्य रोग बढ्दै गइरहेको छ । पछिल्लाे एक दशकमा मुटुजन्य राेग पाँच गुणाले वृद्धि भएकाे चिकित्सकले बताएपनि यसकाे आधिकारिक तथ्याङ्क सरकारसँग छैन । अस्वस्थकर जीवनशैली मुटुरोगको मूख्य कारण भएको मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल बताउँछन् ।

डा. अाेममुर्ति भन्छन्, ‘ मधुमेह, उच्च रक्तचाप, उच्च काेलेस्ट्राेल, माेटाेपन, शारीरिक निस्क्रियता, अस्वस्थकर अाहारकाे सेवन, मानसिक तनाव, वातावरणीय प्रदुषण, व‌ंशाणुगतलगायत मुटुजन्य राेगकाे कारण हुन् ।’ यही कारणले नै ९९ प्रतिशत युवामा मुटुजन्य राेगकाे समस्या देखिएकाे उनकाे भनाइ छ ।

विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ को तथ्याङ्क अनुुसार मुटु र रक्तनली सम्बन्धी रोगका कारण विश्वमा वर्षेनी १ करोड ७९ लाख मानिसको मृत्यु हुन्छ । यो विश्वमा सबै रोगबाट हुने मृत्युको ३१ प्रतिशत हो । बेलैमा सावधानी अपनाउन सके मुटुजन्य रोगबाट जोगिन सकिने डा. ओममुर्ति बताउँछन् ।

‘सुर्तीजन्य पदार्थ र मदिरा पूर्ण रूपमा त्याग्नुपर्छ, दैनिक कम्तिमा अाधा घन्टा बढी हिंड्नुपर्छ, ताैल नियन्त्रणमा राख्नुपर्छ ‘, डा. ओममुर्ति भन्छन्, ‘ मधुमेह, रक्तचाप अनि कोलेस्ट्राेल छ भने त्यसलाई पनि नियन्त्रण गर्नुपर्छ । मद्यपान तथा धुम्रपान गर्नु, अस्वस्थकर खाना ( जंक फुड, धेरै चिल्लो तथा गुलियो ) बढी खानु, हरियो सागसब्जी तथा फलफूल कम खानाले पनि मुटुसम्बन्धी रोग लाग्छ । खानपिनका साथै शारीरिक सक्रियता कम हुँदा पनि यसको जोखिम उत्तिकै हुन्छ । अाफ्नाे जीवनशैली परिवर्तन गर्नुपर्छ ।’

मुटुजन्य रोगको लक्षण सुरुवाती चरणमा नदेखिने भएकाले आजैदेखि स्वस्थ जीवनशैली अपनाउनु जरुरी छ । साथै तल दिइएका कुरामा ध्यान दिन सके मुटुजन्य राेगबाट बच्न र बचाउन सकिन्छः

१. सुर्ती र चुरोटको प्रयोग नगर्नेः मुटुजन्य रोगको प्रमुख कारण सुर्ती र चुरोटलाई मानिन्छ । त्यसैले यसको प्रयोग पूर्ण रूपमा बन्द गर्न चिकित्सककाे सुझाव छ ।

२. खानपिनमा ध्यान दिनेः मुटुलाई स्वस्थ राख्न मुटुमैत्री आहार सेवन गर्नुपर्छ । मुटुमैत्री आहार भन्नाले हरियो सागसब्जी, फलफूल र गेडागुडी प्रशस्त मात्रामा खाने गर्नुपर्छ । तयारी खाना, चिल्लो, गुलियो, धेरै नुनिलो भएका खानेकुरा जति सकिन्छ एकदम कम खाने ।

३. शारीरिक सक्रियता बढाउनेः दैनिक रूपमा कम्तिमा ३० मिनेट हिंड्ने, व्यायाम गर्ने, विभिन्न खेलकुद पनि खेल्न सकिन्छ । शारीरिक रूपमा सक्रिय रहने ।

४. मोटोपन घटाउनेः आवश्यकताभन्दा बढी तौल भए घटाउने ।

५. नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नेः धेरैजसो रोगको लक्षण थाहा नहुने हुँदा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । मधुमेह, उच्च रक्तचाप जस्ता रोगका कारक तत्व फेला परे त्यसलाई सुरुकै अवस्थामा उपचार गर्न सकिन्छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्-

shares