Breaking News

अब वित्तिय विवरण एपमार्फत् इन्टरनेटबाट हेर्न सकिने

काठमाण्डौ, १४ असोज । सर्वसाधारणले अबदेखि बैंक तथा वित्तिय संस्थाको ऋण प्रवाह, निक्षेप संकलनलगायत आर्थिक गतिविधि इन्टरनेटबाट हेर्न सक्ने भएका छन् ।

मुलुकभरका सम्पूर्ण वित्तिय संस्थाको आर्थिक गतिविधिको पहुँच सर्वसाधरण समक्ष पुर्‍याउनुको साथै वित्तिय संस्थाको नियमन र अनुगमन प्रभावकारी बनाउने उद्देश्यका साथ केन्द्रीय बैंकले नेपाल वित्तिय समावेशीकरण पोर्टल (Nepal Financial Inclusion Portal) ल्याएको हो ।

आइतबार विशेष समारोहका बीच राष्ट्रबैंकले यो एप सार्वजनिक गरेको हो । यसबाट केन्द्रीय बैंकलाई पनि मुलुकभरका वित्तिय संस्थाको आर्थिक कारोबार, शाखारहित बैंक तथा वित्तिय संस्थाको कारोबारको अनुगमन गर्न पनि सजिलो हुनेछ ।

एप सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले एपले सर्वसाधारण सबैमा आर्थिक पहुँच वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले पोर्टलमा वित्तिय क्षेत्रको आर्थिक कारोबार र स्थिति सम्बन्धी सम्पूर्ण जानकारी हुने भएकाले वित्तिय सेवा प्रदायक, साझेदार र सरोकारवाला निकाय तथा निति निर्माताहरूका लागि पनि महत्वपूर्ण रहेको बताए ।

पोर्टल सार्वजनिक हुँदा आफू अत्यन्तै खुसी भएको भन्दै गर्भनर नेपालले एप निर्माणमा सहयोग पुर्‍याउने सबै निकायलाई धन्यवाद दिए । उनले केन्द्रमा मात्रै नभई प्रदेश र स्थानीय तहमा पनि वित्तिय सेवा विस्तार गर्दै प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिए ।

shares