Breaking News

अायोगको प्रतिवेदन भन्छ- देशभर ८७ वटा वृद्धाश्रममा एक हजार ५ सय ७७ जना ज्येष्ठ नागरिक

काठमाण्डौ, १४ असोज । राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न ८७ वटा वृद्धाश्रममा एक हजार ५ सय ७७ जना ज्येष्ठ नागरिक रहेको जनाएको छ ।

आइतबार ललितपुरमा ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि गरिएको अध्ययनको मध्यावधि प्रतिवेदन सार्वजनिक गर्दै आयोगले देशभरिमा ९ सय ६५ महिला र ६ सय १२ पुरुष गरी जम्मा १५७७ जना वृद्धाश्रममा रहेको पाइएको जनाएको हो । उनीहरूले खान, बस्न र लगाउने सुविधा राम्रै पाएपनि उपयुक्त स्वास्थ्य सेवा भने नपाएको आयोगले जनाएको छ ।

केही वृद्धाश्रमहरू सुधारोन्मुख र ज्येष्ठ नागरिकमैत्री भएपनि अधिकांश वृद्धाश्रमले सन्तोषजनक सुविधा दिन नसकेको प्रतिवेदनमा उल्लेख छ । सरकारको लगानी लक्षित वर्ग (जेष्ठ नागरिक) मा समुचित रूपमा पुर्‍याउन प्रभावकारी ठोस नीति र ठोस कार्यक्रमको अभाव रहेको आयोगको ठहर छ ।

कतिपय जेष्ठ नागरिकका लागि काम गर्ने जिल्लास्तरीय संघ संस्था तथा महासंघका पदाधिकारीले सञ्चालन गरेको वृद्धाश्रम तथा दिवा सेवा केन्द्रहरू समेत प्रभावकारी नभएको र भवन समेत नभएको पाइएको आयोगका सदस्य प्रकाश वस्तीले जानकारी दिए ।

आयोगले शारीरिक रूपमा अशक्त र दीर्घ रोगी ज्येष्ठ नागरिकहरूको उपचारको प्रबन्ध सन्तोषजनक नरहेको ठहर गर्दै वृद्धाश्रमहरूलाई सेवासुविधा र भौतिक संरचनाको आधारमा वर्गीकरण गरी अनुदान दिने व्यवस्था मिलाउन पर्ने र अनुकूलता हेरी गाभ्नुपर्ने सुझाव पनि दिएको छ ।

shares