Breaking News

लेखक भन्तनाको उपन्यास ‘मोनालिसा’ सार्वजनिक

काठमाण्डौ, १४ असोज । प्रेमको अङ्ग्रेजी पर्याय ‘लव’ युवापुस्तामा विस्तारै एउटा बिम्ब बनेर विकास हुँदैछ । नेपाली समाजमा लव र प्रेमको अर्थ फरक रूपमा बुझ्न थालिएको छ । हालका दिनहरूमा प्रेमले आत्मिकतालाई छोडेर पूरै दैहिक स्वरूप धारण गरिसकेको छ ।

नेपाली चलचित्रमा समावेश भएका गीत होऊन् वा दोहोरीमा घन्कने लोक गीत होऊन्, तिनीहरूले पनि प्रेम वा लवलाई केटाकेटीका बीचमा हुने दैहिक सम्बन्धका रूपमा मात्रै विशिष्टीकरण गरेजस्ता देखिन्छन् । प्रेमको फराकिलो दायरा र जीवनको महान आधार विस्तारै शारीरिक भोगमा केन्द्रित भइरहेको बेलामा प्रेमलाई कथावस्तु बनाइएको नयाँ उपन्यास ‘मोनालिसा’ सार्वजनिक गरिएको छ ।

शनिबार सर्वनाम थिएटर अनामनगरमा लेखक देवराज भन्तनाले लेखेको उपन्यास ‘मोनालिसा’ लाई साहित्यकार राजन मुकारुङले सार्वजनिक गरेका हुन् । कार्यक्रममा कवि तथा पत्रकार प्रकाश गुरागाईँले मोनालिसा उपन्यासमाथि सारपूर्ण समीक्षा प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै आख्यानकार मुकारुङ्ले भने – ‘लेखनका क्षेत्रमा नयाँ पुस्ता जन्मिने क्रम निरन्तर हुनुपर्ने र देवराज भन्तनालाई एक आशालाग्दो थालनीका रूपमा लिन सकिन्छ ।’

कार्यक्रममा मोनालिसा भन्तनाको दोस्रो उपन्यास भएपनि आख्यानको बनोट निकै आशालाग्दो भएको, विचारबिना समाजलाई रूपान्तरण गर्न नसकिने बताउँदै विचार सहर केन्द्रित हुँदैछ भन्ने उदाहरण उपन्यासका पात्रहरू दिवाकर र पिताम्बरको भूमिकाबाट प्रष्ट भएको कुरा साहित्यकार मुकारुङको भनाइ छ ।

उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

shares