Breaking News

पशुपति क्षेत्रभित्र सफा ट्याम्पो संचालन

काठमाण्डौ, १४ असोज । पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो संचालनमा ल्याइएको छ ।

वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्रभित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो संचालनमा ल्याइएको हो । लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहायतामा संचालनमा ल्याइएको सो टयाम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आइतबार एक कार्यक्रमका बीच शुभारम्भ गरे ।

अशक्त तथा वृद्धहरूका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरण मैत्री सफा ट्याम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिए ।

सरकारले केही समयअघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरूलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएको थियो । त्यही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा टयाम्पो संचालनमा ल्याइएको हो । ६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरूले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले आइतबारबाटै लकर सेवा पनि संचालन गरेको छ । माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनहरूको मूल्यवान सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको हो । बैंकमा अध्यक्ष रोशन केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई हस्तान्तरण गर्नु भएको सो लकरमा भक्तजनहरूले आफ्नो सामानहरू राख्न पाउनेछन् ।

मन्त्री अधिकारीले पशुपति क्षेत्रको सर्वाङ्गीण विकासका लागि सहयोग उपलब्ध गराएको भन्दै बैंकलाई धन्यवाद दिए । त्यस अवसरमा उनले पशुपति क्षेत्र गुरु योजनालाई ४ महिनाभित्र तयार पारी यसको समग्र क्षेत्रको विकासको कामलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री अधिकारीले हिन्दूहरूको पवित्र तीर्थस्थल पशुपतिलाई आकर्षक बनाउने कामलाई सरकारले तीव्रता दिने योजना पनि अघि सारे । यसअघि पशुपति क्षेत्रभित्र भारत सरकारको सहयोगमा धर्मशाला पनि स्थापना गरिएको थियो ।

shares