Breaking News

सार्वजनिक सवारीको १० प्रतिशत मूल्य वृद्धि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाण्डौ, १४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले सार्वजनिक सवारीको १० प्रतिशत मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

अखिल क्रान्तिकारीले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत मूल्य वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको हो । यातायात क्षेत्रमा भएको वृद्धिले समग्र उपभोग्य वस्तुको भाउ समेत बढेको र यसले जनतालाई प्रत्यक्ष मारमा पारेको उनीहरूको भनाइ छ ।

त्यस्तै पटक पटक भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मारमा परेको जनताका लागि चाडपर्वका बेला थप मूल्यवृद्धि गरेको क्रान्तिकारीले जनाएको छ । उनीहरूले मुलुकमा भइरहेको हत्या हिंसा बलात्कारका घटना नरोकिएको भन्दै सुरक्षा कायम गर्न सरकार चूकेको आरोप लगाएका छन् ।

आफूहरूले उठाएका मागहरूको उचित तवरले सम्बोधन गर्न सरकार गम्भीर नभए आफूहरूले सशक्त आन्दोलन गर्ने अखिल क्रान्तिकारीका काठमाडौं क्याम्पस जिल्ला अध्यक्ष उषा किरणले बताइन् ।

अखिल क्रान्तिकारीले शैक्षिक व्यापारिकरण र भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने भन्दै नारा लगाएका थिए ।

shares