Breaking News

इण्डोनेसिया: भूकम्प र सुनामीका कारण मर्नेको संख्या ८३२ पुग्यो

काठमाण्डौ, १४ असोज । भूकम्प र सुनामीबाट गुज्रिरहेको इण्डोनेसियाली सहर पालुमा हालसम्म ८ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

भूकम्पको केन्द्रविन्दु अासपास ठूलो संख्यामा कामदारहरू पुग्ने कारण मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । गत शुक्रबार उक्त टापुमा भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएका छन् ।

ज्यान गुमाएका मानिसका शवहरू सडकमै छन् । अस्पताल भवनहरूमा क्षति पुगेकोले त्रिपालमा राखेर घाइतेहरूको उपचार भइरहको छ ।

उद्धारकर्ताहरूले भवनका भग्नावशेषहरूमा पुरिएका मानिसहरूको उद्धारका लागि हातैले खनिरहेका छन् ।भवनभित्रबाट बचाउनका लागि मानिसहरूले आवाज निकाले पनि उद्धारकर्ताहरूसँग खन्ने र तान्ने उपयुक्त उपकरणको अभाव भएकोले उनीहरू हातैले खन्न बाध्य भएका हुन् ।

थुनिएका सडक र भत्किएका पुलहरूका कारण उद्धार कार्य थप कठिन भएको छ ।

करिब सोह्र लाख मानिसहरू भूकम्प र सुनामीबाट प्रभावित भएको र यो भयानक दुर्घटना अझै भयानक बन्न सक्ने रेडक्रसले जनाएको छ ।

पालु नजिकैको डोंगाला नगरमा भूकम्प र सुनामीको असर कति परेको छ भन्ने स्पष्ट छैन । त्यसैले अहिले उक्त नगरको अवस्थाबारे चासो बढेको छ।

shares