Breaking News

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, १४ असोज । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गएराति पार्किङ गरेर सडक किनारमा रोकिराखेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो ।

शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।

ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । -रासस

shares