Breaking News

पुनर्निर्माण सम्पन्न २ विद्यालय समितिलाई हस्तान्तरण

काठमाण्डौ, १२ असोज । २०७२ सालको महाभूकम्पले ध्वस्त भएका राजधानीका २ विद्यालय पुनर्निर्माण गरी विद्यालय समितिलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई र काठमाण्डौ जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले शुक्रबार काठमाण्डौका पुनर्निर्माण सम्पन्न भएका दुई विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ८ स्थित श्री कृष्ण माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित श्री सेतीदेवी माध्यमिक विद्यालयको ४ कोठे आरसीसी भवन विशेष कार्यक्रम गरी विद्यालय समितिलाई हस्तान्तरण गरिएको हो ।

श्रीकृष्ण माध्यमिक विद्यालय ६४ लाख ६७ हजार र सेतीदेवी मावि ६४ लाख ८५ हजार ५ सय ९६ रुपैयाँ लागतमा निर्माण गरिएको हो । विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै काठमाण्डौ क्षेत्र नम्बर १० का सांसद राजेन्द्र कुमार केसीले विद्यालय पुननिर्माणको क्षेत्रमा राम्रो कामको सुरुवात भएको बताए ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले काठमाण्डौ जिल्ला आयोजना कार्यान्वयन इकाईले विद्यालय पुननिर्माणमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) काठमाण्डौका प्रमुख अर्जुन बहादुर रायमाझीले निर्माण सम्पन्न भएका दुवै विद्यालयलाई भविष्यमा पनि आवश्यक सहयोग गर्न इकाई प्रतिबद्ध रहेको बताए । महाभूकम्पका कारण क्षतिग्रस्त भएका कैयौं विद्यालय तीन वर्ष बितिसक्दा पनि अझै पुनर्निर्माण हुन सकेका छैनन् ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण कार्यक्रम अन्तर्गत बन्ने भवनको पुनर्निर्माण कार्यविधि २०७३ अनुरूप मिति २०७४ कात्तिक १३ गतेको सम्झौता अनुसार अन्तिम प्राविधिक निरीक्षणसमेत शिक्षा ईकाईले दुवै विद्यालयलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गरेको छ ।

shares