Breaking News

ट्राफिक प्रहरीको दसैं-तिहार विशेष सुरक्षा योजना

काठमाण्डौ, १२ असोज । ट्राफिक प्रहरीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो । जसअनुसार टिकट काउन्टरमा हुने ठगी एवम् अपराधिक गतिविधि नियन्त्रणका लागि व्यापक मात्रामा सादा पोशाकमा ट्राफिक प्रहरी र प्रहरी परिचालन गरिएको छ । त्यसैगरी यात्रुको सुरक्षा र सहयोगका लागि नागरिक सहायता कक्षको पनि व्यवस्था गरिएको महाशाखाका सहआयुक्त प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

टिकटमा ठगी गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने माथि कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पन्तले क्षमताभन्दा बढी यात्रु नराख्न पनि बस व्यवसायीहरूलाई सचेत गराए । उनले छतमा यात्रु राख्न नदिन अनुगमनका लागि राजधानीको मुख्य, मुख्य नाकाहरूमा विशेष व्यवस्था गरिएको पनि जानकारी दिए । महाशाखाले सबै टिकट काउन्टरमा स्पष्ट खुल्ने गरी भाडादरसम्बन्धी सूचना अनिवार्य रूपमा टाँस गर्न पनि सचेत गराएको छ ।

फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राखी कारबाही गर्ने लगायतका विशेष योजना पनि अघि सारिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पन्तले यात्रुहरूको पीरमर्का तथा गुनासोलाई सुक्ष्मरूपमा अनुसन्धान गरी आवश्यक व्यवस्था गरिने पनि बताए ।

shares