Breaking News

प्रदेश ७ को नाम र राजधानी दुई तिहाईले पारित, कांग्रेस र राजपाले मतदानमा भाग लिएनन्

धनगढी, १२ असोज । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने निश्चित् भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले सुदूरपश्चिमको पक्षमा मतदान गरे भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले मतदानमा भाग लिएनन् ।कुल ५३ सांसद रहेको प्रदेश ७ मा उक्त प्रस्तावको पक्षमा ३८ मत परेको थियो जुन दुई तिहाईका आवश्यक मतभन्दा २ ले बढी हो ।

विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले मतदानमा भाग नलिर्इ बैठक बहिस्कार गरेका थिए ।

त्यस्तै प्रदेशको राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ ।

नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश बनेको छ । यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकिसकेका छन् ।

अन्ततः प्रदेशको नाम र राजधानी चयन गर्नका लागि नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित विशेष समितिले केही दिनअघि बुझाएको प्रतिवेदनअनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।

शुक्रबार प्रदेशसभा बैठकमा संसदीय समितिको प्रस्तावमाथि छलफल गर्ने वा नगर्ने भन्दै प्रदेशसभा सदस्यहरूको मत मागिएको थियो । बहुमत सदस्यले छलफल गर्ने भनेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो ।

shares