Breaking News

वरिष्ठ चिकित्सक केसीद्वारा मन्त्री पोखरेलको राजीनामा माग

काठमाण्डौ, १२ असोज । वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दाबी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

केसीले शुक्रबार महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री ओली स्वयंको पहलमा गरिएको सम्झौता अनुसारको विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध पुर्‍याएकाले मन्त्री पोखरेलले पदमा रहिरहनु शोभनीय नहुने दाबी पनि गरे ।

वरिष्ठ चिकित्सक केसीले देशमा अपराध र बलात्कारका घटना बढ्दा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले कुशासनको राजको अन्त्य, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूसँग गरिएको सहमति अनुसार तत्काल पारित नभए बिनाजानकारी १६ औं सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिए ।

वरिष्ठ चिकित्सक केसीले भ्रष्टाचारमा दोषी ठहर भएका त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थ खनियालाई राष्ट्रपतिबाट मानपदवी दिलाउने काम गरेकोमा पनि आपत्ति जनाए ।

shares