Breaking News

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी दुई महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाण्डौ, १२ असोज । संघीय संरचनाअनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी दुई महिनाभित्र प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिवेदन तयार गर्नका लागि आयोगले तीव्र रूपमा काम गरिरहेको भन्दै दुई महिनाभित्र प्रतिवेदन तयार गरी बुझाइने बताए । शिक्षा पत्रकार सञ्जालको आठौं वार्षिक साधारणसभाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पोखरेलले आयोगले पहिलो मस्यौदा तयार गरेपछि त्यसलाई प्रादेशिक तहमा छलफल गरिने जानकारी दिए ।

सरकारले दुई महिना अघि मन्त्री पोखरेलको संयोजकत्वमा राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो भने आयोगलाई चार महिनाको म्याद दिइएको थियो । बदलिदों समय अनुसार आवश्यक शिक्षा नीति तय गर्न आयोग गठन गरिएको र उक्त आयोगको सिफारिसका आधारमा संघीय र अधिकारमा आधारित शिक्षा ऐन निर्माण गर्ने उनले बताए ।

मन्त्री पोखरेलले मस्यौदाबाट प्राप्त सुझावलाई समेट्दै २०२८ साल देखि अपनाइएको शिक्षा ब्यवस्थामा परिवर्तन गरी समय सुहाउँदो शिक्षा नीति तय गर्ने धारणा राखे । उनले समृद्धिको यात्रामा शिक्षा महत्वपूर्ण पूर्वाधार भएको भन्दै मन्त्रालय शिक्षा क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताए ।

shares