Breaking News

पोखरेल-प्रधान शिष्टाचार भेट: पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत तयार

काठमाण्डौ, १२ असोज । नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई भारतले तीव्रता दिने भएको छ ।

नेपाल भ्रमणमा आएका भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्री धर्मेन्द प्रधानले शुक्रबार कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंग शिष्टाचार भेट गर्दै नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको बताएका हुन् ।

भेटमा मन्त्री प्रधानले केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने बताएका थिए । सो विषयमा दुई सरकारबीच सह-सचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लाग्नेछ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए ।

यसैगरी नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीसहितको शिष्टाचार भेटमा भारतीय पेट्रोल मन्त्री प्रधानले भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा कार्यवाहक प्रधानमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

त्यसैगरी मन्त्री प्रधानले ग्याँस ढुवानीमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको कार्यबहाक प्रधानमन्त्री पोखरेलले जानकारी दिए । भेटमा दुवै मुलुकको आपसी हितका अन्य विषयमा पनि कुराकानी भएको कार्यवाहक प्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।

shares