Breaking News

अपराधका घटना नियन्त्रण गर्न गृहमन्त्रीलाई सत्तारुढ दलकै नेतृहरूद्वारा दबाब

काठमाण्डौ, १२ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरूले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महिला नेतृहरूले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् ।

पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरूले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

त्यसक्रममा महिला नेतृहरूले पार्टी नेता समेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरू आफैं लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका थिए ।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कारबाही गर्न सरकारलाई गम्भीर बन्न सचेत गराइन् ।

यता, गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागिपरेको दाबी गरेका थिए । उनले महिला तथा बालिकामाथि हुने बढ्दो हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरूलाई दिएका थिए ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढ्दै गएपछि सत्तारुढ दलकै नेताहरूले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दबाब दिन सुरु गरेका छन् । उनीहरूले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भीर नभएको आरोप पनि लगाउँदै आएका छन् ।

shares