Breaking News

आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा, समयमै सावधानी अपनाउन चिकित्सकको सुझाव

कमला गुरुङ/काठमाण्डौ, १२ असोज । आज सेप्टेम्बर २८, विश्व रेबिज दिवस । ‘रेबिजबारे जनचेतना फैलाऔं, अमूल्य जीवन बचाऔं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ ।

रेबिज रोगमध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गर्छ । विश्वव्यापी रूपमा वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ.को तथ्याङ्क छ । जसमध्ये करिब आधा १५ वर्ष मुनिका बालबालिका छन् ।

नेपालको करिब आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आधा जनसंख्या उच्च र एक चौथाई मध्यम जोखिममा छन् ।

रेबिजको स‌ंक्रमणबाट आर्थिक वर्ष २०७४/७५ सालमा ३२ जनाको मृत्यु भएको थियो । यसअघि २०७३/७४ मा ८ र ७२/७३ मा ६ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ । गत आर्थिक वर्षमा २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो । २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेका थिए ।

रेबिजबाट हुने मृत्युलाई शून्य बनाउने र सन् २०३० सम्म निवारण गर्ने विश्वव्यापी लक्ष्य प्राप्तिका लागि काम गरिरहेको महाशाखाको भनाइ छ । गएको वर्ष शंकास्पद २८ हजार ५ सय १४ संक्रमितका लागि २ लाख ८१ हजार ७ सय १८ भायरल खोप खपत भएको महाशाखाको तथ्याङ्क छ ।

लाइसा नामक स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसले गर्दा रेबिज रोग लाग्छ । सङक्रमित जनावरले टोकेमा वा उसको र्‍यालको माध्यमबाट यो रोग सर्ने चिकित्सक बताउँछन् । जो निम्न उल्लेखित सावधानी अपनाउन सकिन्छ:-

  • घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाह अनुसार समय-समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गरी राख्ने ।
  •  श‌ंकास्पद कुकुर वा अन्य जनावरको टोकाइपछि टोकेको भागमा कम्तिमा पनि १५ मिनेट साबुनपानी, डिटोल, पोभिडिन आयोडिन जस्ता भाईरस मार्ने चिजले राम्ररी सफा गर्ने र नजिकको स्वास्थ्य संस्थामा चिकित्सकको सल्लाह अनुसार रेबिज विरुद्धको खोप लगाउने ।

रेबिज विरुद्धको खोप सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने गरेको छ । यो रोग लागिसकेपछि यसको उपचार नहुने भएकाले समयमै सावधानी अपनाउनु आवश्यक छ ।

shares