Breaking News

ए डिभिजन लिग फुटबलको सुरुवाती दुई दिनपछिका खेलहरू स्थगित हुने

काठमाण्डौ, ११ असोज । आगामी शनिबारदेखि सुरु हुने ए डिभिजन लिग फुटबलमा बंगबन्धु कपका कारण सुरुवात दुई दिनपछि खेलहरू स्थगित हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको लिग कमिटिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । असोज १३ गते त्रिभुवन आर्मी र एनआरटीबीचको खेल पूर्व तालिका अनुसार हुने र त्यसपछि दोस्रो दिन पनि यसअघि भनिएको संकटा र सरस्वतीबीच हुनेछ ।

तर त्यसपछि हुने लिगका खेलहरू अर्को मिति तय नहुन्जेलका लागि स्थगित हुने भएको हो । लिगको उद्घाटनमा विभिन्न कलाकार ल्याएर विशेष कार्यक्रम गर्ने योजना एन्फाको छ । तर सुरुवाती दुई खेलपछि अरु खेलहरूको बंगबन्धुमा नेपालको प्रदर्शनका आधारमा तालिका तयार पारिनेछ ।

५० लाख रुपैँया पुरस्कार राशि रहेको ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् । उनीहरूले खेलाडीको सूची पनि एन्फाको ए डिभिजन लिग कमिटिमा बुझाइसकेका छन् । लिग एन्फाको सातदोबाटो र हलचोक मैदानमा आयोजना हुन लागेका खेलहरूमध्ये पहिलो र दोस्रो दिनका खेल सातदोबाटोमा आयोजना हुनेछ ।

प्रतियोगिताको उपविजेताले ३५ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख पाउनेछन् । यसपटकको लिगमा छैटौं हुनेसम्मलाई पुरस्कार राखिएको छ । यस्तै हरेक खेल जित्ने टिमलाई छुट्टै ५० हजार रुपैयाँ पाउनेछन् । विधागत रूपमा उत्कृष्ट हुने चार खेलाडी र एक प्रशिक्षकलाई एक-एक थान मोटरसाइकल दिइनेछ ।

shares