Breaking News

भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै अनेरास्ववियु (क्रान्तिकारी) धर्नामा

काठमाण्डौ, ११ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा गरिएको दश प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहीबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) ले मिन भवनस्थित विभागको कार्यालयमा बिहीबार दिउँसो एक घण्टा प्रदर्शनसहितको धर्ना दिँदै यातायातमा गरिएको १० प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो ।

यातायातमा भाडा वृद्धि गर्ने सरकारको पछिल्लो निर्णय खारेज गर्न माग गर्दै विभागको कार्यालयमा एक घण्टे धर्नासहित विरोध प्रदर्शन गरिएको संगठनका सचिव पवन कार्कीले जानकारी दिए । त्यस अवसरमा अनेरास्ववियू (क्रान्तिकारी)ले यातायातमा गरिएको भाडा वृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र पनि विभागका महानिर्देशक लावन्यकुमार ढकाललाई बुझाएको छ ।

दसैंको मुखैमा यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेकोमा सरकारको चर्को आलोचना हुँदै आएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले पनि मूल्य वृद्धि गर्ने सरकारको सो निर्णय फिर्ता नभए आफूहरू कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

shares