Breaking News

विदेशी पर्यटकलाई भव्य स्वागत गरेर मनाइयो बेलहियामा पर्यटन दिवस

नरेश के.सी./भैरहवा, ११ असोज । पदमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर विशेष कार्यक्रम सम्पन्न भएको छ ।

बेलहिया नाका हुँदै आज नेपाल प्रवेश गर्ने २ जना पर्यटकलाई स्वागत गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । यसरी बेलहिया नाकामा न्यानो स्वागत प्राप्त गर्ने भाग्यमानी पर्यटक जर्मनीबाट नेपाल घुम्न आएका हुन् । उनीहरूलाई नेपाली ढाकाटोपी, फूल माला र खादा ओढाएर समेत सम्मान गरिएको थियो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त स्वागत कार्यक्रममा नेपाल एसोसियशन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ नम्बर प्रदेश संयोजक विष्णुप्रसाद शर्माले बोल्दै पर्यटकलाई एका बिहानै बेलहियामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी सागर अधिकारीले ई-सेवाको नाममा अनाधिकृत काम गरेर पर्यटन व्यवसायीलाई धरासायी बनाउने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले नेपाल घुम्न आउने पर्यटक सधैं खुसी भएर फर्किने वातावरण तय गर्न सरकार लाग्नु पर्ने बताए ।

सो अवसरमा जर्मन पर्यटक जेनिस बेगीमनले आफू पहिलोपटक नेपाल आएको भन्दै नेपाल प्रवेश गर्ने बित्तिकै गरेको स्वागतले खुसी भएको बताए । उनीसंगै आएकी लिजा बेगीमन पनि सो अवसरमा खुसी भएकी थिइन् ।

(नाट्टा) ५ नम्बर प्रदेशका महासचिव चन्द्र थापामगरको सन्चालनमा सम्पन्न उक्त स्वागत कार्यक्रममा पर्यटन मन्त्रालयका उपसचिव जीवन पंगेनी, सिद्धार्थनगरका मेयर हरि अधिकारी, अध्यागमन कार्यालयका प्रमुख गिरीराज खनाल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलगायतले बोल्दै विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई पूर्णतया पर्यटनमैत्री बनाउनेगरी अभियान चलाइएको बताएका थिए ।

दिवस सफल पार्न रुपन्देहीका पर्यटन व्यवसायीहरूले समिति समेत गठन गरेका थिए । नेपाल एसोसियशन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ नम्बर प्रदेश संयोजक विष्णुप्रसाद शर्माको संयोजकत्वमा गठित समितिमा सिद्धार्थ होटल एसोसियशन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन रुपन्देही लगायत सदस्य रहेका थिए ।

समितिका संयोजक शर्माका अनुसार बिहीबार नेपाल प्रवेश गर्ने पर्यटकलाई उसको पहिलो गन्तब्यसम्म जाने निशुल्क व्यवस्था गर्ने र बिहीबारको होटल रुम तथा खानाको पनि निशुल्क व्यवस्था हुनेछ । अतिथि देवो भवःको भावना अनुसार बिहीबारको पर्यटकलाई पूर्ण निशुल्क व्यवस्था गर्ने समितिले जनाएको छ ।

सो कार्यक्रममा बेलहिया क्षेत्रका खुकुरी क्लब, गृहलक्ष्मी आमा समूह, बेलहिया मावि, बेलहिया गाउँ समाजले ब्यानरसहित र्‍याली समेत निकालेका थिए ।

shares