Breaking News

महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको गृहमन्त्रीको दाबी

काठमाण्डौ, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको दाबी गरेका छन् ।

गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको बताएका हुन् । बिहीबार महिला हिंसा न्यूनिकरणसम्बन्धी सरकारको काम कारबाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत सो सम्बन्धी घटनाका दोषीलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्‍याए ।

गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न ढिलाइ नहुने आश्वासन पनि दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानबिनमा त्रुटि गर्नेमाथि कारबाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे ।

गृहमन्त्री थापाले समितिसमक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बर्जस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दाबी पनि गरे ।

बैठकमा समितिका सदस्यहरूले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्न सरकारलाई सुझाव दिएका थिए । समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

बैठकमा समितिका सदस्यहरूले महिला हिंसाका दोषीलाई कारबाहीको दायरामा ल्याउने काममा गम्भीर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

shares