Breaking News

पीपीएल क्रिकेटका लागि टिम र मार्की प्लेयर घोषणा

काठमाण्डौ, ११ असोज । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट खेल्ने ६ टोली र ‘मार्की’ खेलाडी सार्वजनिक गरिएको छ । आयोजक क्वीन्स इभेन्ट्स प्रालीले बिहीबार पत्रकार सम्मेलन गरी फ्रेन्चाइज टिम घोषणा गरेको हो ।

पीपीएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । पीपीएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माण कार्य भइरहेको सो अवसरमा जानकारी दिइएको थियो ।

पीपीएल खेल्ने फ्रेन्चाइज टिममा काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, विराटनगर टाइटन्स र धनगढी ब्लूज रहेका छन् ।

यस्तै सबै टिमको मार्की प्लेयर सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का चितवन राइनोजका मार्की प्लेयर भएका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्समा छन् । यसैगरी सन्दीप लामिछाने विराटनगर टाइटेन्स, शरद भेषावकर पोखरा पल्टन, सोमपाल कामी बुटवल ब्लास्टर र दीपेन्द्र सिंह ऐरी इक्सर्ट धनगढी ब्लूजको मार्की प्लेयर छन् ।

टोली र मार्की प्लेयर घोषणा भएसँगै पीपीएलको अक्सन आगामी आइतबार हुनेछ । अघिल्लो दुई साता दर्ता गरेका खेलाडीबीच अक्सन गराइनेछ । पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली खेलकुदले आशा गर्ने खेलको रूपमा रहेको क्रिकेटको व्यावसायिक घरेलु प्रतियोगिता सञ्चालन गर्न लागेकोमा शुभकामना व्यक्त गरे।

प्रतियोगिताको खेलाडी दर्ता अन्तिम चरणमा पुगेको र छिट्टै अक्सनमार्फत टोली घोषणा हुने क्वीन्सका प्रबन्ध निर्देशक छुब्बी लामाले जानकारी दिए ।

shares