Breaking News

आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गरिने

काठमाण्डौ, ११ असोज । सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्न लागेको जानकारी गराएका हुन् । बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका भावी योजनाबारे जानकारी गराउने क्रममा उनले आगामी वर्षलाई साक्षर नेपाल अभियानको रूपमा अघि बढाउन लागिएको बताए ।

त्यसका लागि सरकारले आन्तरिक रूपमा व्यापक छलफल गरिरहेको पनि मन्त्री पोखरेलको दाबी छ । सरकारले यो वर्ष सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान संचालन गरेको छ । अर्को वर्ष सबै नागरिकलाई साक्षर बनाउने अभियान अघि बढाउने योजना तय गरिएको मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित गर्ने प्रतिबद्धता पनि जनाए । उनले विगतमा गरिएका सहमति अनुसार अघि बढाउने उल्लेख गर्दै सो विधेयक पारित गर्न ढिलाइ नगर्न पनि समितिसमक्ष आग्रह गरे । आगामी शैक्षिक सत्रदेखि ऐनको रूपमा लागू गराउने सो विधेयक पारित गर्न अब संघीय संसदले पनि ढिलाइ गर्न नहुने मन्त्री पोखरेलको भनाइ छ ।

बैठकमा समितिका सदस्यहरूले सो विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै संघीय संसदले पारित गर्ने विश्वास व्यक्त गरेका थिए ।

shares