Breaking News

६ महिना बितिसक्दा पनि सरकारले आफ्नो अस्तित्व बोध गर्न सकेन: राणा

काठमाण्डौ, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार बनेको ६ महिना बितिसक्दा पनि सरकारले आफ्नो अस्तित्व बोध गर्न नसकेको आरोप लगाएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) प्रशिक्षण विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष राणाले बहुमत प्राप्त भएपनि सरकार अलमलिएर बसेको जस्तो देखिएको समेत आरोप लगाए ।

मुलुकमा तीन तहको सरकार निर्माण हुनु केवल जनतालाई करको बोझको महसूस गराउनु मात्र देखिएको उनले बताए । उनले मुलुकमा भइरहेको मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकार चुकेको बताए ।

निर्वाचनपछिको अवस्थामा पार्टीले सन्तुष्टि लिने ठाउँ नरहेको भन्दै उनले मुलुकका सबै शक्तिहरूलाई एक ठाउँमा ल्याएर बाम सरकारले गर्न नसकेको कामहरू आफूहरूले गर्नुपर्ने धारणा राखे । उनले पार्टीमा रहेका नेता कार्यकताहरू स्थिर उदेश्य लिएर उदारवादको बाटोमा अघि बढ्नुपर्ने समेत बताए ।

उद्घाटन सत्रमा अन्य नेताहरूले पार्टीभित्र देखिएको गुट उपगुटलाई अन्त्य गर्दै पार्टीलाई मजबूद बनाउनुपर्ने धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रम शुक्रबारसम्म चल्ने राप्रपा (प्रजातान्त्रिक)ले जनाएको छ ।

shares