Breaking News

सरकारले निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको नेता पौडेलको अारोप

काठमाण्डौ, ११ असोज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको अारोप लगाएका छन् ।

युरोपका विभिन्न देशहरूमा पार्टी संगठनको कार्यक्रममा सहभागी भई बिहीबार स्वदेश फर्किने क्रममा नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललार्इ बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक नगरी लुकाएको अारोप लगाएका हुन् ।

वरिष्ठ नेता पौडेलले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरेका छन् । निर्मला हत्या प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको उनले अारोप लगाए ।

नेता पौडेलले विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा बूढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णय गलत भएको बताए ।

१० दिन लामो युरोपको बसाइका क्रममा नेता पौडेलले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए ।

shares