Breaking News

आधा बढी महिला गर्भपतन सेवाको कानूनी मान्यताबारे अनभिज्ञ

कमला गुरुङ/काठमाण्डौ, १० असोज । गर्भपतन सेवाले कानूनी मान्यता पाएको १६ वर्ष पुग्दा पनि आधाभन्दा बढी महिला यसबारे अनभिज्ञ रहेको पाइएको छ । चौथो सुरक्षित गर्भपतन दिवसको अवसरमा काठमाडौ‌ंमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार ४१ प्रतिशत महिलालाई मात्र गर्भपतन सेवाले कानूनी मान्यता पाएको बारे थाहा छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा‍. गुणराज लोहनीले असुरक्षित गर्भपतन रोक्न सुरक्षित गर्भपतन सेवा विस्तार गर्नुपर्ने बताए । लोहनीले भने, ‘सुरक्षित गर्भपतन सेवा विस्तारका लागि मान्यता प्राप्त स्वास्थ्य संस्था र दक्ष जनशक्ति बढाउनुपर्छ ।’ असुरक्षित गर्भपतन रोक्न सके मातृ मृत्युदर घटाउन सकिने उनको भनाइ छ ।

विभागका अनुसार असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या ५८ प्रतिशत छ । ५६ प्रतिशतले मेडिकल र ४४ प्रतिशत महिलाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन सेवा लिएको विभागको तथ्याङ्क छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा‍. पुष्षा चौधरीले किशोरावस्थामा हुने गर्भपतन रोक्न सके र परिवार नियोजनका अस्थायी साधनको प्रयोग बढाउनु चुनौतीपूर्ण भएको बताइन् । असुरक्षित होस् या सुरक्षित दुवै गर्भपतन घटाउनु आवश्यक छ,’ डा‍. चौधरीले भनिन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक डा‍. नारायणप्रसाद ढकालले खुल्ला रूपमा बिक्री वितरण हुने गर्भपतनका औषधि नियन्त्रणका लागि सहकार्यको आवश्यकता रहेको बताए ।

परिवार नियोजन सेवाको उपयोग र उपलब्धतामा वृद्धि, अवैधानिक रूपमा हुने सेवा व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाको जोड छ । ‘अबको गन्तव्यः असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नारासहित चौथो सुरक्षित गर्भपतन दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मुलुकभर मनाइएको छ ।

shares