Breaking News

निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माणबारे देखिएको चासो सकारात्मक: मन्त्री बस्नेत

काठमाण्डौ, १० असोज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल निर्माणबारे देखिएको चासो सकारात्मक भएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने समेत बताए । उनले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भएपनि केहीले स्थानीय स्वार्थ र राजनीतिक स्वार्थका आधारमा बहस चलाएको टिप्पणी गरे ।

झण्डै ४५ प्रतिशत बन क्षेत्र भएपनि काठको आयात हुनु विडम्बना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाई निर्याततर्फको योजना अघि बढाएको अवगत गराए । उनले बनको दिगो व्यवस्थापन, ढलापडा काठको प्रभावकारी उपयोग र निजी बनबाट उत्पादित काठको ओसारपसारमा कानूनी सहजता अपनाएर काठको आयात निरुत्साहित गर्ने बताए ।

बैठकमा बन सचिव डाक्टर विश्वनाथ ओलीले मन्त्रालय र मातहातका निकायका गतिविधि एवं योजनाका बारेमा जानकारी गराउँदै प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण सँगसँगै गर्ने मन्त्रालयको नीति रहेको बताए । बैठकमा समिति सदस्यहरूले वन मन्त्रालयका कामकारबाहीका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

shares