Breaking News

करिब साढे ४ लाखको अवैध काठ सशस्त्र प्रहरीद्वारा बरामद

नरेश के.सी./भैरहवा, १० असोज । सशस्त्र प्रहरी बल नेपाल पजरकट्टिले अवैध रूपमा लुकाई छिपाई राखिएको १ सय ८ क्यू फिट सालको काठ बरामद गरेको छ ।

पजरकट्टि विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले देवदह नगरपालिका वडा नम्बर ११ रेहरास्थित त्रीमूर्ति इट्टा उद्योगको कम्पाउन्डबाट सो काठ बरामद गरेको हो ।

बरामद गरिएको काठको बजार मूल्य ४ लाख ३२ हजार रहेको र थप अनुसन्धान तथा कारबाहीको लागि सब-डिभिजन बन कार्यालय देवदहलाई बुझाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

पानीभित्र चोरी तस्करी गरेर नवलपरासी र रुपन्देही क्षेत्रबाट ल्याई इट्टा उद्योगको कम्पाउन्डभित्र नाली रहेको र सोही नालीको पानीमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरीले खोजतलास गर्दा बरामद गरेको हो ।

बरामद गरिएको काठ एक डेढ महिना पहिलेदेखि पानीमा लुकाई छिपाई राखेको हुनसक्ने र सो काठ पुरानो भएपछि बिक्री गर्ने मनसाय भएको हुन सक्ने स्रोतको दाबी छ । उक्त काठ रुपन्देही र नवलपरासीको जंगलबाट अवैध रूपमा कटानी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सालको काठ एक किलोमिटर दूरीमा रहेको नवलपरासीको दशकठ्ठा भन्ने जंगलबाट चोरी गरी ल्याएको हुनसक्ने सब डिभिजन बन कार्यलय देवदहका इन्चार्ज कृष्ण ज्ञवालीले जनाए । उनले भने , ‘यहींबाट आएको होला भन्ने एकिन त छैन तर दशकठ्ठाबाट होकी भन्ने छ । अब अनुसन्धान भएपछि खुल्छ ।’

रुपन्देही, नवलपरासी, कपिवस्तु जस्ता सीमावर्ति क्षेत्रमा भारतबाट मलेसियन काठ पनि अवैध रूपमा बेला-बेला भित्रिने गर्दछ ।

shares