Breaking News

निर्मला हत्याबारे शून्यबाट अनुसन्धान सुरु गर्न सुझाव

काठमाण्डौ, १० असोज । नेपाल मानव अधिकार संगठनले निर्मला पन्त हत्याका प्रमाणहरू नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घट्नाका बारेमा तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै संगठनले अनुसन्धान शून्यबाट सुरु गर्न ध्यानाकर्षण गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्मला पन्त हत्याका दशी प्रमाणहरू नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग गरे । उनले निर्मलाको हत्या आशंका गरिएका व्यक्तिलाई प्रहरीले कुनै प्रकारको सोधीखोजी गरेको नदेखिएको बताए ।

साईकल भेटिएको ठाउँतिरै लास होला भन्ने बम दिदीबहिनीमाथि कुनै छानबिन नभएको भन्दै उनले एसपी डिल्लिराज बिष्ट, उनका छोरा, मेयरको भतिजा, नक्कली मामा बनेर निर्मलाको लास जलाउने तीर्थ भण्डारीमाथि प्रशासनले छानबिन गर्नुपर्ने बताए ।

त्यस्तै संठगनका महासचिव महामुनीश्वर आचार्यले सरकारी अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएर पुनः काममा फर्केपछि आफूहरू सशंकित बनेर आफूहरूले प्रारम्भिक अुनसाधन गरेको जानकारी दिए । कार्यक्रममा अधिवक्ता पुष्पराज पौडेलले अनुसन्धानको नाममा सरकारले पीडितलाई रणभुल्लमा पारेको आरोप लगाए ।

shares