Breaking News

अमेरिका-इरान: अमेरिकालार्इ चिढ्याए “ठूलो मूल्य चुकाउनु पर्ने” बोल्टनको चेतावनी

काठमाण्डौ, १० असोज । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी शासकहरूले अमेरिका र अमेरिकी नागरिक एवं उसका पक्षराष्ट्रहरूलाई चिढ्याए “ठूलो मूल्य चुकाउनु पर्ने” चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औँ महासभामा मङ्गलबार सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा “मृत्यु र विध्वंस फैलाइरहेको” अारोप लगाएको केही समयपश्चात् बोल्टनको यस्तो प्रतिक्रिया अाएको हो ।

उता इरानी राष्ट्रपति हसन रुहानीले राष्ट्रसंघीय महासभामा बोल्दै ट्रम्प प्रशासनले अाफूहरूलार्इ शत्रुतापूर्ण व्यवहार गरेको भन्दै अालोचना गरेका छन् । उनले अमेरिकालाई अन्तर्राष्ट्रिय सुरक्षा परिषदमा विभेदपूर्ण व्यवहार गरेको उसले अपराध गरेको समेत उल्लेख गरे।

आतंकवाद अहिलेको मुख्य एजेन्डा भएको भन्दै रुहानीले त्यसलाई निर्मूल पार्ने बताए । त्यस्तै उनले रसिया र टर्कीसँग मिलेर सिरिया युद्धको अन्त्यका लागि पहल गर्ने   प्रतिबद्धतासमेत व्यक्त गरे ।

२०१५ को पारमाणविक सम्झौताबाट बाहिरिएपछि अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदै अाएको छ । राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याए ।

उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको पनि बताए ।

shares