Breaking News

बेलहिया नाकाबाट भित्रिने पर्यटकलाई खानबस्न फ्री

नरेश के.सी./भैरहवा, १० असोज । ३९ औं पर्यटन दिवस सफल पार्नको लागि रुपन्देहीका पर्यटन व्यवसायीहरूले समिति गठन गरेका छन् । नेपाल एसोसियशन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ नम्बर प्रदेश संयोजक विष्णु प्रसाद शर्माको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिका सदस्यहरूमा सिद्धार्थ होटल एसोसियशनका महासचिव रविन्द्र शर्मा घिमिरे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष गणेश बेलबासे, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामचन्द्र रेग्मी सदस्य रहेका छन्।

२७ सेप्टेम्बर अर्थात असोज ११ गते बिहीबारका दिन परेको पर्यटन दिवसको पूर्वसन्धयामा बेलहियामा सरसफाई कार्यक्रम पनि सम्पन्न गरिएको छ । पर्यटन दिवसका दिन आउने पर्यटकको स्वागतको लागि सफाई र अन्य सबै तयारी पूरा भएको नेपाल एसोसियशन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ का महासचिव चन्द्र बहादुर थापाले जानकारी दिए ।

पर्यटन दिवसका दिन बेलहिया नाकाबाट आउने पहिलो चार जना पर्यटकलाई विशेष सम्मानसमेत गरिने भएको छ । ‘बेलहियामै आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गर्नेछौं । बाजागाजासहित बजार परिक्रमा पनि गराउने छौं’, समितिका संयोजक शर्माले भने ।

शर्माका अनुसार बिहीबार नेपाल प्रवेश गर्ने पर्यटकलाई उसको पहिलो गन्तव्यसम्म जाने निशुल्क व्यवस्था गर्ने र बिहीबारको होटल रुम तथा खानाको पनि निशुल्क व्यवस्था हुनेछ । अतिथि देवो भवःको भावना अनुसार बिहीबारको पर्यटकलाई पूर्ण निशुल्क व्यवस्था गर्ने समितिले जनाएको छ ।

यसैबीच समितिले बिहीबार बिहान ७ बजे बेलहियामा पर्यटकको स्वागतको लागि विशेष कार्यक्रम आयोजना गरेकोले पर्यटन सम्बद्ध संघसंस्था र जिल्ला बासीलाई सहभागिताको लागि सबैलाई अनुरोधसमेत गरेको छ ।

shares